डडेल्धुरा । साउन २२, उचित बजार मूल्य नपाएपछि बैतडीको पाटन नगरपालिका वडा नम्बर ७ का किसान हर्क बहादुर चन्दले डडेल्धुरा बसपार्कमा करिब दुई कट्टा खुर्सानी सडकमा फालेका छन्।
बजारमा खुर्सानीको आपूर्ति अत्यधिक बढेपछि प्रति किलो २० रुपैयाँ पनि नपाउने अवस्था आएपछि उनले निराश हुँदै यस्तो कदम चालेका हुन्। “गाउँमा धेरै मेहनत गरेर लगाएको खुर्सानीले लागत पनि नउठ्ने भएपछि यसरी फाल्न बाध्य भएँ,” चन्दले गुनासो गरे।
बैतडीको पाटनबाट डडेल्धुरामा खुर्सानी बिक्री गर्न आएका चन्दले सडकमा खुर्सानी फालेर सरकार र सरोकारवालाहरूको ध्यानाकर्षण गराउने प्रयास गरेका छन्।
यो घटनाले डडेल्धुरा र आसपासका पहाडी क्षेत्रका किसानहरूले भोगिरहेको बजार व्यवस्थापनको चरम समस्यालाई उजागर गरेको छ। उत्पादन धेरै हुँदा पनि उचित मूल्य नपाउँदा किसानहरू हतोत्साहित भइरहेका छन्।
स्थानीय कृषकहरूले बजारमा न्युनतम समर्थन मूल्य तोक्न, उचित मूल्यमा बिक्री सुनिश्चित गर्न र स्थानीय उत्पादनका लागि बजार व्यवस्थापन प्रणाली बलियो बनाउन सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन्।