भागेश्वर गाउँपालिकाका शैक्षिक संस्थामा आज शोक बिदा

बिगूल समाचारदाता

डडेल्धुरा । भागेश्वर गाउँपालिकाले आफ्ना क्षेत्रभित्रका सबै शैक्षिक संस्था आज (बुधबार) एक दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। प्राथमिक तहका प्रथम श्रेणीका शिक्षक चक्रबहादुर महरको काठमाडौंमा उपचाररत अवस्थामा मंगलबार निधन भएपछि पालिकाले शोक बिदा घोषणा गरेको हो।

लामीकाण्डेस्थित गोविन्दपुरी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक महरको निधनले स्थानीय शिक्षा क्षेत्रमा ठूलो क्षति पुगेको जनाउँदै गाउँपालिकाले विज्ञप्ति जारी गरेको छ। पालिकाले दिवंगत शिक्षकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

शोक बिदाका कारण आज सबै सामुदायिक विद्यालय र अन्य शैक्षिक संस्था एक दिनका लागि बन्द रहने पालिकाले जानकारी दिएको छ। पालिका क्षेत्रका विद्यार्थी तथा अभिभावकलाई सोही अनुरूप जानकारीमा रहन आग्रह गरिएको छ।

प्रतिक्रिया