पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न अध्यक्ष प्रचण्डको निर्देशन

करन साउँद

डडेल्धुरा भदौ १६ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई जनसम्पर्क विस्तार र आत्मसमीक्षासहित संगठन निर्माणमा जुट्न निर्देशन दिनुभएको छ।


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को  सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै प्रचण्डले  जनतामाझ पुनः विश्वास हासिल गरे पनि त्यसलाई संगठनमा रूपान्तरण गर्न नसके दीर्घकालीन उपलब्धि सम्भव नहुने बताउनुभयो । उहाँले सुदूरपश्चिममा देखिएको सकारात्मक संकेतको प्रशंसा गर्दै सबै नेता-कार्यकर्तालाई गाउँबस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा लाग्न आग्रह गर्नुभयो।


प्रचण्डले पार्टीभित्र आत्मसमीक्षा र आलोचना-आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याउँदै हरेक कमरेडलाई विगतका कमजोरीहरूको गम्भीर समीक्षा गर्न निर्देशन दिनुभयो। उहाँले सुदूरपश्चिमलाई माओवादी केन्द्रको लागि एक सम्भावनायुक्त प्रदेशको रूपमा चित्रण गर्दै क्रान्ति र शान्तिको दुवै समयमा यहाँका नेता तथा कार्यकर्ताहरूको ठूलो जमात रहेको र त्यसलाई व्यवस्थित, योजनाबद्ध, केन्द्रित र परिचालन गर्ने चुनौती रहेको बताउनुभयो।

बैठकमा पार्टीका उपमहासचिव तथा सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोख्रेलले प्रदेशको भावी रणनीति, सांगठनिक विस्तार र स्थानीय तहसम्मको पहुँचबारे कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। उहाँले विशेष परिस्थितिलाई ध्यानमा राखेर जनसम्पर्क र संगठन सुदृढीकरणमा केन्द्रित हुने बताउनुभयो। अन्तमा, अध्यक्ष प्रचण्डले सकारात्मक माहोललाई संगठनमा बदलेर मात्र राजनीतिक सफलता हासिल गर्न सकिने निष्कर्ष प्रस्तुत गर्नुभयो।

२०८२ साल भाद्र १६/१७/१८ गते  भौतिक रूपमै बस्ने भनेको  नेपाल कम्युनिष्ट  पार्टी माओवादी केन्द्रको सुदुरपश्विम प्रदेश समितिको बैठक पार्टीका आन्तरिक कार्यक्रम र महिलाको राष्ट्रिय सम्मेलन लगायतका केन्द्रिय गतिबिधिका कारण भर्चुअल रूपमा बस्नु परेको पार्टी प्रदेश सचिव जनक बुढाले बता‌ए ।  उनले भने दशै पछाडी मध्यपहाडी लोकमार्गको अभियान सकिन्ने वित्तिकै अध्यक्ष कमरेड प्रचण्डको भौतिक उपस्थितिमा  सुदुरपश्विम प्रदेशको बैठक बोलाएर प्रत्यक्ष संवाद गरिने छ ।  सोमबार विहान ९ बजे बसेको पार्टीको भर्चुअल बैठक दिउसो १२ बजे समापन भएको थियो ।  

प्रतिक्रिया