डडेल्धुरा भाद्र ३१ । बाजुराका समाजसेवी तथा युवा अभियन्ता हेमराज थापा अन्तरिम सरकारको मन्त्री बन्ने तयारीमा रहेका छन्। पछिल्लो एक दशकदेखि सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय थापालाई अन्तरिम सरकारमा मन्त्रीको जिम्मेवारी दिनेबारे छलफल अगाडि बढेको उहाँ निकट स्रोतले जनाएको छ।
युवाका मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएका थापा स्पष्ट वक्ता र देशभक्त योद्धाको रूपमा चिनिन्छन्। उहाँले दमनकारी शासनविरुद्ध आवाज उठाउँदै गर्दा २० पटकसम्म जेल जीवन बिताउनु परेको भए पनि कहिल्यै अडानबाट पछि नहटेको बताइन्छ।
थापाले राजनीतिक गतिविधि बाहेक समाजसेवामा पनि सक्रिय भूमिका खेल्दै आएका छन्। विशेष गरी संकटमा परेका व्यक्तिहरूलाई सहयोग गर्न उहाँ सधैँ अग्रसर रहने गरेका छन्।
स्रोतका अनुसार, मन्त्री पदका लागि थापाको नाममा सहमति जुटिसकेको भए पनि कुन मन्त्रालयको जिम्मेवारी दिने भन्नेबारे भने अझै टुङ्गो लागिसकेको छैन।