डडेल्धुरा । सुदूरपश्चिम प्रदेशकै महत्वपूर्ण धार्मिक आस्था र सांस्कृतिक पहिचानको केन्द्रका रूपमा रहेको घण्टेश्वर देवतालाई संरक्षण र व्यवस्थित बनाउन भाद्र ४ गतेदेखि श्रमदान अभियान सुरु भएको छ।
डोटीको जोरायल गाउँपालिका–१ र ४, डडेल्धुराको आलिताल गाउँपालिका–१ तथा गन्यापधुरा गाउँपालिका–१ को सीमाक्षेत्रमा अवस्थित घण्टेश्वर क्षेत्र प्राचीनकालदेखि शक्तिपीठका रूपमा परिचित रहँदै आएको छ। प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन यहाँ विशेष पूजाआजा र भव्य मेला लाग्ने परम्परा छ। यस अवसरमा स्थानीयवासी मात्र नभई सुदूरपश्चिमका विभिन्न जिल्ला तथा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजनहरू आउने गर्दछन्।
मेला व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर मडैका अनुसार यस वर्ष मेलालाई व्यवस्थित बनाउन सडक निर्माण, खानेपानी, शौचालय, मन्दिर सरसफाइ तथा व्यवसायिक स्टल व्यवस्थापनजस्ता तयारी कार्य भइरहेको छ। उनका अनुसार श्रमदान अभियान मेलाको तयारी मात्र नभई सम्पूर्ण धार्मिक सम्पदाको दीर्घकालीन संरक्षणतर्फको महत्त्वपूर्ण पहल हो।
इतिहासकारहरूले घण्टेश्वर क्षेत्रलाई प्राचीन शक्तिपीठका रूपमा व्याख्या गर्दै यहाँ भेटिने मूर्ति, लिपि र संरचनाले धार्मिक गतिविधिसँगै सामुदायिक एकता र सांस्कृतिक पहिचान झल्काउने बताएका छन्। स्थानीयवासीहरूले पनि यो अभियानलाई पर्यटकीय सम्भावना बढाउने अवसरका रूपमा स्वागत गरेका छन्। उनीहरूको विश्वास छ, व्यवस्थित विकास गर्न सकिए रोजगारी सिर्जना हुने र स्थानीय अर्थतन्त्रमा योगदान पुग्नेछ।
मेलामा जोरायल, आलिताल र गन्यापधुराका विभिन्न गाउँबाट देवताको देउरो ल्याउने परम्परा रहिआएको छ भने पुरुष र महिलाले छुट्टाछुट्टै समूह बनाएर रातभर देउडा खेल्ने परम्परा अविच्छिन्न रूपमा चल्दै आएको छ। धार्मिक विश्वासअनुसार बद्री–केदार हुँदै कैलाश प्रवेश गर्ने क्रममा पासा देवताले रोक्दा घण्टेश्वर बाबाले यही स्थानलाई बासस्थान बनाएको जनविश्वास छ। उपवास गरी दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने विश्वास रहँदै आएको छ।
राजा–रजौटाकै पालादेखि नै मालपोत कार्यालयमार्फत मेला खर्च पठाउने परम्परा रहँदै आएको छ। हाल पनि नेपाल सरकारले पूजा रकम उपलब्ध गराउँदै आएको छ भने समितिबाट नेपाल सरकारलाई प्रसादस्वरूप तिलख पठाउने चलन निरन्तर कायम छ।
भीमदत्त राजमार्गको हगुल्टेबाट करिब ४ किलोमिटर दुरीमा घनघोर जङ्गलबीच अवस्थित घण्टेश्वर मन्दिरसम्म पुग्न सडक सुविधा उपलब्ध छ। पछिल्लो समयमा वडा, पालिका, प्रदेश र संघ सरकारको सहयोगमा पूर्वाधार विस्तारसँगै मेला क्षेत्र थप आकर्षक बनेको छ। यसैबीच मन्दिर वरपरको वनलाई धार्मिक वनका रूपमा दर्ता गर्ने प्रक्रिया पनि सुरु गरिएको छ। यसका लागि जनप्रतिनिधी, वन कार्यालय, सामुदायिक वनका प्रतिनिधी र सरोकारवालाबीच सर्वसहमति भइसकेको समितिले जनाएको छ।
यस वर्षको श्रमदान अभियान र मेलाले घण्टेश्वरलाई धार्मिक स्थल मात्र नभई ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्पदाको रूपमा सुरक्षित र व्यवस्थित गर्ने लक्ष्य लिएको छ।