कञ्चनपुर । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल र भारत जोड्ने बनबासा पुलमा सवारी आवागमनमा रोक लगाइएको छ। आइतबार बिहान नदीको बहाव १ लाख २८ हजार ५६० क्युसेक प्रतिसेकेन्ड पुगेपछि पुलमा चारपाङ्ग्रे र तीनपाङ्ग्रे सवारीसाधनको आवतजावत बन्द गरिएको हो।
महाकाली नदीको बहाव १ लाख क्युसेक प्रतिसेकेन्ड नाघेपछि सुरक्षाका लागि सवारी आवागमनमा रोक लगाइने प्रावधानअनुसार प्रशासनले तत्काल यो कदम चालेको हो। हाल पुलमा पैदलयात्री र दुईपाङ्ग्रे सवारीसाधनलाई मात्र आवतजावतको अनुमति दिइएको छ।
पुलमा खटिएका सुरक्षाकर्मीले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। नदीमा पानीको बहाव कम भएपछि मात्रै सवारीसाधनको आवतजावत पुनः सुचारु गरिने प्रशासनले जनाएको छ।
बाढीका कारण कञ्चनपुरको दोधारा चाँदनी, भीमदत्त नगरपालिका र नदी किनारका अन्य तटीय क्षेत्रमा जोखिम बढेकोले स्थानीय प्रशासनले आवश्यक सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।