लाल बिगूलको नयाँ यात्रा: जनताको लागि, जनतासंगै

lalbigul.com

लाल बिगूलको नयाँ यात्रा:  जनताको लागि, जनतासंगै 

करन साउँद 

जनताको  पसिना र संघर्षको इतिहासलाई फेरी कोरा अक्षरहरूले लेख्ने जमर्को गर्दै इतिहसका पानाहरूलाई पल्टाउने साहासका साथ पुनः यहाँहरूका माझमा लाल विगुल दैनिक संञ्चालनमा आएको छ । नेपाली जनजीविका र किसान मजदुरहरूका आवाजहरूलाई बुलन्द गर्दै  सुनौलो विहानीको परिकल्पना गर्दै सबैको सहयोग पनि अपेक्षा लिइएका छौँ । 

हाल कुनैपनि मिडाय र राज्यका निकायहरूमा किसानका  आवाज कति सुनिन्छ ? उनीहरूका सपना, संघर्ष र पीडा कति समाचार बन्छन ? यही अभावमा, यही मौनतालाई तोड्दै जनताको आवाज बन्ने अठोटका साथ लाल विगुल राष्ट्रिय दैनिक पुनः प्रकाशनमा आएको छ ।

विगतमा केही समय स्थगित भएको हाम्रो यात्रा हामीले पुनः संचालनमा ल्याएका छौ । पत्रकारितालाई व्यवसायकारूपमा विकास गरेर आफ्नो जिविका निर्वाह गर्ने माध्यमका रूपमा विकास भएको अहिलेको परिवेशलाई चिर्नका लागि हाम्रा रोकिएका पैतलाहरूलाई पुनः सुचारू गर्ने प्रयास गरेका छौ । जनताको पक्षमा निर्भीक र जनपक्षीय पत्रकारिता गर्ने छौँ । 

आज जब सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक चुनौतीहरूले देशलाई घेरेको छ यस परिवेशमा सत्य बोल्ने, प्रश्न सोध्ने र जनताको पक्षमा उभिने सञ्चार माध्यमको आवश्यकता पहिलेभन्दा बढी छ ।

देशमा बढ्दै गएको भ्रष्टाचार, अन्याय, अत्याचार तथा उत्पीडन र अवसरवादी खेलहरूको पर्दाफास गर्न, जनताको करबाट चल्ने     राज्य संयन्त्रलाई जवाफदेही बनाउन र श्रम, पसिना र सिर्जनशीलतामा बाँच्ने जनताको आवाजलाई मूलधारमा ल्याउन लाल विगुल पुनः आएको हो ।

यस यात्रामा हामी केवल आलोचनात्मक भूमिकामा मात्र सीमित    रहने छैनौं । गाउँका साना पहलकदमी, बालबालिका र महिलाको संघर्ष, युवाको सिर्जनात्मकता, कृषिमा भएका नवप्रयोग, जनस्वास्थ्य र शिक्षाका प्रयास तथा पर्यटन र उद्योगका सम्भावनाहरूलाई उजागर गर्दै सकारात्मक परिवर्तनको पक्षमा सक्रिय भूमिका खेल्नेछौं । हामी जनताको पिरमर्का मात्र नभइ उनीहरूको आशा र साहसको पनि सारथी बन्नेछौँ ।

आज देशमा बेरोजगारी, महँगी र विकासका असमानताहरूको बोझले नागरिकलाई थिचिरहेको छ । गाउँहरूबाट सदरमुकाम, सदरमुकामबाट तराई, तराईबाट काठ्माण्डौ र काठ्माण्डौबाट  अन्य देशमा नागरिकहरू सुविधा र अवसरको खोजिमा पलायन भइरहेका छन् ।  विदेशी भूमिमा युवा श्रम बेच्न बाध्य छन् । यी चुनौतीहरूको समाधानका लागि योजनाहरू बनाइन्छन्, तर तिनको कार्यान्वयनमा भैरहेको बेइमानी र लापरवाहीलाई देखाउन र आवाज उठाउनको लागि जनपक्षीय सञ्चार आवश्यक छ । त्यसका लागि लाल विगुल तपाईंहरूको विश्वासिलो साथी बन्नेछ भन्ने कुराको समेत तपाईहरूका माझमा प्रतिवद्धता व्यक्त गर्दछौ । 

हामी लोकतन्त्रलाई केवल चुनावमा सीमित गर्ने पक्षमा छैनौं । जनताको प्रश्न, आलोचना र सुझावलाई लोकतन्त्रको बलियो पक्ष ठानी त्यसलाई निरन्तर उठाउँदै जानेछौं । हामी सधैं निष्पक्ष, निर्भीक र तथ्यमा आधारित पत्रकारितामा अडिग रहनेछौं । कुनै शक्ति र पैसाको चलखेलले हाम्रो कलमलाई रोक्ने छैन, हाम्रो उद्देश्य जनताको अधिकार र स्वाभिमानलाई सुरक्षित गर्नु हो ।

लाल विगुल दैनिकले फेरी तपाईहरूका आवाजहरूलाई वुलन्द पार्ने जनताको पक्षमा बोल्ने, गाउँका गल्ली र शहरका चोकहरूमा जनताको आवाज गुन्जाउने र निराशामा आशा कोर्ने जिम्मेवारीकासाथ अगाडी बढ्ने जमर्को गरिएको छ । यहाँहरू सबैको साथ, सुझाव र सक्रिय सहभागिता अपेक्षा पनि हामीले गरेकाछौँ । तपाईंहरूको प्रत्येक समस्या हाम्रो समाचार बन्न सक्छ, तपाईंहरूको प्रत्येक उपलब्धि हाम्रो प्रेरणा बन्न सक्छ । त्यसैले तपाईको सहयोग विना हाम्रो यात्र पुर्ण हुदैन पाठक र सुचना दाताहरूको सहयोगको हामीले अपेक्षा  गरेको छौ । लाल विगुल दैनिक सम्पूर्ण नेपाली जनताहरूको भएकाले यो हामी  सबैको साझा आवाज हो । यो एक यात्रा हो र यो यात्रामा परिवर्तन हाम्रै पालामा सम्भव छ । त्यसैले  आउनुहोस्, यस परिवर्तनका लागि सँगै लडौँ जुटौँ, उठौँ र  हिँडौँ ।

प्रतिक्रिया