बैतडी । बैतडीको सुर्नया गाउँपालिका–५ नौघरकी १७ वर्षीया अप्सरा चन्दको आत्महत्या प्रकरण रहस्यमय बन्दै गएको छ। घटनापछि स्थानीयवासी मात्र होइन, सम्पूर्ण समुदाय नै स्तब्ध बनेको छ।
आफन्तका अनुसार सामाजिक सञ्जालमा अप्सरा चन्द र स्थानीय युवक भरत बिकको तस्बिर सम्पादन गरी ‘अप्सरा भरत विश्वकर्मा’ नामको नक्कली फेसबुक आइडी खोलेपछि अप्सरा तनावमा थिइन्। बेइज्जतीको डरले नै उनले यस्तो कदम चाल्नुपरेको दाबी उनका आफन्तले गरेका छन्।
भदौ ३१ गते राति अप्सरा घरमै सामान्य देखिएको र कुनै असामान्य व्यवहार नगरेको उनका काका विरबहादुर चन्दले बताएका छन्। तर राति नै घरबाट निस्केर उनी सुर्नया नदीमा हाम फालेकी थिइन्। भोलिपल्ट बिहान स्थानीयले उनको शव फेला पारे। घटनास्थल नजिकै उनको मोबाइल पनि सकुशल भेटिएको छ।
आफन्तले यस घटनाको मूल कारण सो नक्कली फेसबुक आइडी नै भएको बताउँदै किटानी जाहेरी दिएका छन्। यसै आधारमा प्रहरीले तस्बिरमा देखिएका भरत बिकलाई नियन्त्रणमा लिएको छ। तर उनले उक्त आइडी आफैले नखोलेको दाबी गरेका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।