लिपुलेक नाका प्रयोगबारे भारत–चीन सहमतिप्रति नारायणकाजीको आपत्ति

lalbigul.com

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले नेपालको सहमति बिना भारत र चीनबीच लिपुलेक नाका व्यापारका लागि प्रयोग गर्ने सहमति आपत्तिजनक भएको बताएका छन्।

श्रेष्ठले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भूमि भएको ऐतिहासिक प्रमाणहरू रहेको स्मरण गर्दै यसप्रकारको सहमति नेपाल र नेपाली जनताको सार्वभौमिकता तथा स्वाभिमानमाथि गम्भीर चोट पुर्‍याउने बताए।

उनका अनुसार भारतले यस क्षेत्रमा विवाद रहेको विषयलाई अघिल्ला वार्तामा स्वीकार गरिसकेको भए पनि विवाद टुंगो नलागेसम्म नेपालबिनाको सहमति कुनै निर्णय हुन नसक्ने प्रष्ट सन्देश दिनुपर्ने अवस्था आएको छ।

सन् २०१५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा पनि लिपुलेकलाई व्यापारिक नाका बनाउने सहमति भएको प्रसङ्ग स्मरण गर्दै श्रेष्ठले त्यतिबेला नेपालले कूटनीतिक नोटमार्फत आपत्ति जनाएको तर हाल पुनः त्यही प्रक्रिया दोहोरिएको उल्लेख गरे।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत तथा चीन भ्रमणमा यो विषयलाई प्रमुख एजेन्डाका रूपमा उठाउनुपर्ने उनको जोड छ।

श्रेष्ठले छिमेकी राष्ट्रहरूबीचको सम्बन्ध सुधार र घनिष्ठताको स्वागत गर्दै पनि नेपालको सार्वभौमिकता र स्वाभिमानको मूल्यमा कुनै सम्झौता स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

प्रतिक्रिया