डडेल्धुरामा सामुदायिक वनको रकम हिनामिना, अध्यक्षविरुद्ध अख्तियारले मुद्दा दायर

करन साउँद

डडेल्धुरा । सामुदायिक वनको कोषबाट रकम दुरुपयोग गरेको आरोपमा डडेल्धुराका एक सामुदायिक वन अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आलिताल गाउँपालिका-३ मा रहेको कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सर्वजित मडैले १८ लाखभन्दा बढी रकम हिनामिना गरेको पाइएको अख्तियारले जनाएको छ।

आयोगका अनुसार मडैले २०७८ मंसिर १० गतेको समितिको बैठकको नक्कली कागज (मिनेट्स) बनाएर, सोही आधारमा किर्ते हस्ताक्षर प्रयोग गरी आफ्नै नाममा २० लाख १५ हजार रुपैयाँ झिकेका थिए।

उनले २०७८ मंसिर १६ देखि २०७९ वैशाख २५ सम्म सातवटा चेकमार्फत रकम निकालेको प्रमाण समेत फेला परेको छ। समितिलाई घटनाबारे थाहा पाएपछि मडैले २०७९ जेठ ३० गते करिब २ लाख रुपैयाँ मात्र फिर्ता गरेका थिए भने बाँकी रकम हराएको पाइएको छ।

अख्तियारले उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन अन्तर्गत दण्डनीय अपराध मानेर मडैविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ।

प्रतिक्रिया