कञ्चनपुर। नेकपा (माओवादी केन्द्र)का युवा नेता नवराज ऐरले सोमबार आरक्ष पीडितहरूको आमरण अनशनलाई समर्थन जनाउँदै उनीहरूको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन्।
कृष्णपुर नगरपालिका–२, बनहरामा अनशनरत आरक्ष पीडितहरूसँग भेट गर्दै उनले लामो समयदेखि पीडितहरूलाई दोस्रो दर्जाको नागरिकझैँ व्यवहार गरिएको भन्दै आपत्ति जनाए।
उनले भने, “तपाईंहरूले लामो समयदेखि नरकीय जीवन बिताइरहनुभएको छ, राज्यले मान्छे भएर पनि दोस्रो दर्जाको रूपमा हेपिरहेको छ। यो निन्दनीय छ र तपाईंहरूको आन्दोलनप्रति मेरो पूर्ण समर्थन छ।”
ऐरले यस क्षेत्रका नेताहरूले आरक्ष पीडितलाई पटक–पटक भोट बैंकका रूपमा मात्र प्रयोग गरेको आरोप समेत लगाए। उनले जोड्दै भने, “स्थानीय सरकारले गर्ने कामको सीमा हुन्छ तर नीति निर्माण तहमा पुगेकाहरूले आफ्नो स्वार्थका लागि मात्र रोटी सेक्ने काम गरे। अब भोट बैंक होइन, समस्या समाधानमा लाग्नुपर्छ।”
तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज) विस्तारका क्रममा विस्थापित भएकाहरू पुनःस्थापनाको माग गर्दै साउन २२ गतेदेखि आरक्ष पिडितहरू आमरण अनशनमा बसेका छन्।
अनशन स्थलमा ऐरसँगै कृष्णपुर–२ का अध्यक्ष अर्जुनसिंह साउँद र योङ कम्युनिष्ट लिग नेपाल, कञ्चनपुरका जिल्ला इन्चार्ज तिलक जप्रेल लगायतले पनि आरक्ष पिडितलाई भेटेर ऐक्यबद्धता जनाएका छन्।
19 Aug 2025, Tuesday