डडेल्धुरा। जिल्लाकै सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता 'जयभुवन सिजन–३' को उपाधि आयोजक जयभुवन युवा क्लब, डडेल्धुराले हात पारेको छ। नवदुर्गा गाउँपालिका-१ स्थित चोरा खेल मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा आयोजक क्लबले FYC डडेल्धुरालाई पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो।
टस जितेर फिल्डिङ रोजेको जयभुवन युवा क्लबको रणनीति सफल रह्यो। FYC डडेल्धुराले १७.१ ओभरमा अलआउट हुँदै मात्र ९४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको आयोजक जयभुवन युवा क्लबले ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भयो। बिहान १०:०० बजे सुरु भएको फाइनल खेल १:४० मिनेटमै सकिएको थियो।
असोज ९ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको यस प्रतियोगितामा कुल १५ टिमले सहभागिता जनाएका थिए। प्रतियोगिताको पुरस्कार राशी डडेल्धुरामा अहिलेसम्मकै ठूलो रहेको आयोजकले जनाएको छ।
प्रतियोगिताको प्रथम पुरस्कार वापत रु. १ लाख १ हजार १ सय ११ र द्वितीय पुरस्कार वापत रु. ५१ हजार १ सय ५१ प्रदान गरिएको थियो।
आयोजक जयभुवन युवा क्लबका अध्यक्ष किरण ऐरका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको छ। म्यान अफ द सिरिजलाई रु. ८ हजार, बेस्ट बलरलाई रु. ३ हजार, बेस्ट ब्याटम्यानलाई रु. २ हजार र सर्वोत्कृष्ट खेलाडीलाई रु. ५०० नगदसहित बल प्रदान गरिएको थियो।
प्रतियोगिताको मुख्य प्रायोजक नवदुर्गा गाउँपालिका रहेको थियो। आयोजक क्लबका अध्यक्ष ऐरले प्रतियोगिताले जिल्लाको खेल क्षेत्रमा नयाँ ऊर्जा थप्न सफल भएको बताएका छन्।
30 Sep 2025, Tuesday