काङ्ग्रेस र एमालेको सरकार बिचौलियाको दबाबमा टिकेको छ:प्रचण्ड

करन साउँद

नेपाल उद्योग व्यापार महासंघले पोखरा लेकसाइडमा आयोजना गरेको “समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी व्यवसायीको भूमिका” विषयक कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस-एमाले नेतृत्वको वर्तमान सरकार दलाल पुँजीवाद र बिचौलियावादको बलमा टिकेको आरोप लगाउनुभएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी प्रचण्डले भन्नुभयो, “कांग्रेस-एमालेको सरकार उनीहरूको बुद्धि र राजनीतिक दृष्टिले बनेको होइन, बिचौलियाको धाक र धम्कीबाट बनेको हो। हिजो डरले बनेको, आज पनि डरकै कारण टिकेको सरकार हो।”

दलाल पुँजीवादी प्रवृत्तिको कडा आलोचना गर्दै कांग्रेस–एमालेभित्रका इमानदार व्यक्तिहरूले यस्ता प्रवृत्तिको संरक्षण गर्ने सरकारमा बस्नु नहुने स्पष्ट धारणा राख्नुभयो।

प्रचण्डले नेपाल उद्योग व्यापार महासंघको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै यस संस्थाले छोटो समयमै प्रभावशाली काम गरेको उल्लेख गर्नुभयो। उहाँका अनुसार २०६४ मा स्थापना भएको महासंघ अहिले देशभर प्रभावकारी रुपमा काम गरिरहेको छ।

नेपाललाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको बाटोमा लैजान माओवादी केन्द्रले स्पष्ट कार्ययोजना अघि सारेको जानकारी दिँदै प्रचण्डले १२३ माओवादी नेतृत्वका पालिकामा सञ्चालन भएको प्रशिक्षण अभियानले राम्रो परिणाम दिएको बताउनुभयो।

सहकारी क्षेत्रमा देखिएको समस्याप्रति संकेत गर्दै उहाँले कांग्रेस–एमालेका नेताहरू नै ठगी र अनियमितताको जड भएको आरोप लगाउनुभयो। उहाँका अनुसार शक्तिशाली प्राधिकरणमार्फत कारबाही अघि बढाउने प्रयास गर्दा पनि सरकार ढालिएको कारणले प्रक्रिया अधुरै रोकिएको हो।

संविधान निर्माणमा माओवादीको भूमिका निर्णायक रहेको स्मरण गराउँदै प्रचण्डले अझै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा संरचनात्मक परिवर्तन आवश्यक रहेको बताउनुभयो। “उही नियम र परम्परा चलिरहेको छ, त्यसैले परिवर्तनको लडाइँ अझै बाँकी छ,” उहाँले स्पष्ट पार्नुभयो।

कार्यक्रममा महासंघका अध्यक्ष खिमलाल भण्डारी, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’, स्थायी समिति सदस्य शशी श्रेष्ठ, महासंघका इन्चार्ज गंगा कार्की तथा गण्डकी प्रदेशका विभिन्न नेताहरूको उपस्थिति थियो।


विशेष क्षणमा दाङ राप्ती गाउँपालिकाका अर्गानिक कृषक रामप्रसाद सुवेदीले आफ्नै फर्ममा उत्पादन गरिएको मालभोग केराको घारी अध्यक्ष प्रचण्डलाई उपहारस्वरूप प्रदान गरेका थिए।


प्रतिक्रिया