डडेल्धुरा। डडेल्धुराको अमरगढी नगरपालिका, परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकिएका छन्। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार ठूलो संख्यामा गरेको सरुवासँगै यी तीन स्थानीय तहमा नयाँ प्रशासकीय अधिकृत नियुक्त भएका हुन्।
मन्त्रालयको निर्णयअनुसार देशभर १२२ उपसचिव र ९७ शाखा अधिकृतको सरुवा गरिएको छ। सोही क्रममा अमरगढी नगरपालिकामा उपसचिव नवराज ओझालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। उनी यसअघि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत थिए। अमरगढीमा यसअघि लक्ष्मीप्रसाद उपाध्याय प्रमुख प्रशासकीय अधिकृत थिए।
त्यस्तै, परशुराम नगरपालिकामा उपसचिव मोहन अर्याललाई पठाइएको छ। लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेका अर्यालले अब परशुरामको प्रशासनिक नेतृत्व गर्नेछन्। यसअघि यहाँ कल्पना भट्ट प्रमुख प्रशासकीय अधिकृतको भूमिकामा थिइन्।
त्यस्तै, आलिताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दीपेन्द्रराज अधिकारीलाई दिइएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत अधिकारीलाई सरुवामार्फत आलिताल पठाइएको हो। यसअघि यहाँ कार्यरत नरेन्द्रसिंह ठगुन्नाको यस अघि नै सरुवा भइसकेका थिए ।
समान्य प्रशासन मन्त्रालयको यो निर्णय संगै डडेल्धुराका ७ ओटै स्थानीय तहमा अब निमित्त नभई पूर्ण जिम्मेवरी सहितका प्रमुख प्रशासकीय अधिकृत रहनेछन् ।