कैलाली र कञ्चनपुरमा भारतबाट भन्सार छली गरेर ल्याएका समान बरामद

lalbigul.com

डडेल्धुरा । भारतबाट भन्सार छलि गरी ल्याइएका सामानहरू कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा प्रहरीले छापा मारेर बरामद गरेको छ।

कैलालीको भजनी नगरपालिका–५ कालापातल तथा पगियापसार कालिका मन्दिर नजिक प्रहरीले बेवारिसे अवस्थामा सामान बरामद गरेको हो। इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको गस्ती टोलीले करिब रु. १ लाख ७३ हजार ५ सय बराबरका कीटनाशक औषधि, एउटा साइकल लगायतका सामान नियन्त्रणमा लिएको जनाएको छ।

त्यसैगरी कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकी र बेलौरी नगरपालिका–६ भुराकोट क्षेत्रमा समेत प्रहरीले भन्सार छलि गरिएका सामान फेला पारेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहतका गस्ती टोलीले करिब रु. २ लाख ३४ हजार बराबरका प्याज, पेय पदार्थ, कपडा, हार्डवेयर तथा किराना सामान नियन्त्रणमा लिएको जनाएको छ।

बरामद गरिएका सबै सामानहरू आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया