शारदा सुदर्शन फाउण्डेसनद्वारा उग्रतारा वेद विद्याश्रममा कपडा दान

बिगूल समाचारदाता

डडेल्धुरा – शारदा सुदर्शन फाउण्डेसन, काठमाडौँले बिहीबार डडेल्धुरास्थित उग्रतारा वेद विद्याश्रममा कपडा दान गरेको छ। फाउण्डेसनकी अध्यक्ष डा. सुधा देबकोटाले आफ्ना दिवंगत बुवा स्व. सुर्दर्शन देबकोटाको जन्मदिनको अवसर पारेर विद्याश्रममा अध्ययनरत बटुक तथा गुरुहरूलाई कपडा वितरण गरेकी हुन्।


फाउण्डेसनले विद्याश्रममा रहेका ३४ जना बटुक र ७ जना गुरु गरी कुल ४१ जनालाई ट्र्याकसुट प्रदान गरेको हो। स्व. बुवाको स्मृतिमा जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोड्दै वेद विद्याश्रमका बटुक र गुरुहरूलाई कपडा दान गर्न पाउँदा आफू अत्यन्त खुसी भएको अध्यक्ष डा. देबकोटाले बताइन्।

फाउण्डेसनका कार्यकारी निर्देशक तेजकुमार बास्तोलाले सानो सहयोगले पनि विद्याश्रमलाई केही राहत पुग्ने विश्वासका साथ कपडा दान गरिएको जानकारी दिए। विभिन्न सामाजिक कार्यहरू गर्दै आएको शारदा सुदर्शन फाउण्डेसनले यस वर्ष वेद विद्याश्रमका बटुक र गुरुहरूलाई लुगा दान गरेकोप्रति विद्याश्रमका गुरुहरूले फाउण्डेसनप्रति धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया