डडेल्धुरा । डडेल्धुराका सातवटै स्थानीय तहमध्ये अजयमेरु गाउँपालिका संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा पहिलो भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजाअनुसार अजयमेरुले ८३.३३ प्रतिशत अंक ल्याएर जिल्लामा अग्रस्थानमा रहेको छ ।
मूल्यांकनमा आलिताल गाउँपालिका र भागेश्वर गाउँपालिकाले समान ८२.२५ प्रतिशत अंकसहित संयुक्त रूपमा दोस्रो स्थान हासिल गरेका छन् भने गन्यापधुरा गाउँपालिकाले ७७.५० प्रतिशत अंक ल्याएर तेस्रो स्थान पाएको छ।
त्यसैगरी परशुराम नगरपालिकाले ७५.२५ प्रतिशत, अमरगढी नगरपालिकाले ७३.७५ प्रतिशत र नवदुर्गा गाउँपालिकाले ७३.२५ प्रतिशत अंक ल्याएका छन्।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार शासकीय व्यवस्थापन, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना कार्यान्वयन, वित्तीय अनुशासन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार र सामाजिक समावेशीकरणजस्ता सूचकका आधारमा मूल्यांकन गरिएको हो।
यसले स्थानीय तहको सबल र दुर्बल पक्ष पहिचान गरी आगामी दिनमा सुधारका प्राथमिकता तय गर्न सहज हुने र स्थानीय तहबीच स्वस्थ प्रतिस्पर्धा बढाउने विश्वास लिइएको छ।
स्थागत क्षमता स्वमूल्यांकनले स्थानीय सरकारलाई पारदर्शिता, जवाफदेहिता ,विकास र कार्यसम्पादनमा थप गतिशील बनाउन मद्दत गर्नेछ।