स्याउलेमा यात्रुका लागि आश्रयस्थल: साना पहलले देखायो ठूलो प्रभाव

lalbigul.com

स्याउलेमा यात्रुका लागि आश्रयस्थल: साना पहलले देखायो ठूलो प्रभाव

डडेल्धुरा ।  स्थानीयको सक्रिय सहभागिता र सानो प्रयासमै ठूलो उपलब्धि हासिल गर्न सकिने उदाहरणका रूपमा डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेमा सेवाग्राही प्रतीक्षालय निर्माण गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, स्याउलेले चन्दा संकलनमार्फत करिब १ लाख रुपैयाँ बराबरको सहयोग जुटाएर प्रतीक्षालय निर्माण गरेको हो।

हाल स्थायी संरचनाको अभावमा कार्यालयको आफ्नै जग्गा नभए पनि अस्थायी रूपमा प्रतीक्षालय सञ्चालनमा ल्याइएको हो। बुधबार एक औपचारिक कार्यक्रमका बीच डडेल्धुराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनार्दन गौतमले प्रतीक्षालय उद्घाटन गरे।

उद्घाटन समारोहमा बोल्दै प्रजिअ गौतमले जिल्लामा अधिकांश ट्राफिक पोस्टहरू भवनविहीन रहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै, भवन निर्माणका लागि आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए। साथसाथै, ट्राफिक प्रहरीमाथि बढ्दो जनगुनासोलाई सम्बोधन गर्दै उनले सेवामुखी, जनमैत्री र उत्तरदायी ढंगले काम गर्न निर्देशन दिए।

कार्यक्रममा डडेल्धुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठले सानो प्रयासबाट यात्रुहरूलाई सुविधा मिल्ने आशा व्यक्त गर्दै प्रहरी जनताको सेवामा समर्पित रहने बताए। उनले जिल्लाका धेरै प्रहरी चौकीहरू जीर्ण अवस्थाका कारण सेवा प्रवाहमा कठिनाइ भइरहे पनि चालु आर्थिक वर्षमा केही पोस्टहरूको निर्माण प्रक्रिया अगाडि बढिसकेको जानकारी गराए।

स्याउले ट्राफिक प्रहरी पोस्टका इन्चार्ज हर्कबहादुर साउँदले राज्यको भर पर्नुभन्दा स्थानीय स्वयं सक्रिय भएर लागेमा परिवर्तन सम्भव हुने स्पष्ट पारे। "सामाजिक परिवर्तन सधैं ठूला योजनाबाट मात्र होइन, यस्ता साना र साकारात्मक पहलबाट सुरु हुन्छ," उनले भने।

कार्यक्रममा सहभागी स्थानीयवासी, चन्दादाता, जनप्रतिनिधि र पत्रकारहरूले ट्राफिक प्रहरीको अग्रसरता र नागरिक सहभागितामा आधारित यो कामलाई अनुकरणीय भन्दै प्रशंसा गरे। 

उद्घाटन कार्यक्रममा विभिन्न समुदायका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, चन्दादाता र स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतीक्षालय निर्माणले यात्रुहरूको बसाइ सहज बनाउने र अन्य स्थानीय निकायलाई पनि यस्ता सानातिना सामाजिक कामप्रति प्रेरित गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया